काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छलफलमा बोलाएको छ। उनलाई शुक्रबारको बैठकमा छलफलका लागि बोलाइएको समिति सभापति भरत साहले बताए।
कोरोना संक्रमण सुरु भएसँगै नेपालमा स्वास्थ्य सामग्री खरिदको विषय अघि बढेको थियो। त्यतिबेला स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सेवा विभागमा आफू अनुकूलका महानिर्देशन ल्याएका थिए। उनले आफ्नो स्वार्थपूर्तीका लागि महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाएका थिए।
श्रेष्ठले पनि मन्त्रीको निर्देशन बमोजिम त्यसअघि औषधि खरिदका सबै प्रक्रिया रद्ध गरी लकडाउन सुरु भएलगत्तै औषधि खरिदका लागि २४ घण्टे टेन्डर गरेका थिए। सोही समयमा मन्त्री ढकालले बिचौलिया कम्पनी ओम्नीसँग वार्ता गर्नका लागि कानुन विपरीत आफ्ना सल्लाहकार खेम कार्कीलाई संयोजक तोकेका थिए। उनैमार्फत तीन घण्टाको समयावधिमा औषधि खरिद भएको थियो। तर उसले समयमा औषधि नदिएको आरोप लगाउँदै टेन्डर रद्ध गरिएको थियो।
यो प्रक्रिया गुणस्तरहीन औषधि खरिद भएको, आर्थिक अनियमितता गरिएको र कानुन उल्लंघन गरिएको आरोप लागेको थियो। कानुन उल्लंघन भएको विषय भने प्रमाणित भइसकेको छ। सार्वजनिक लेखा समितिको अनुरोधमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययन रिपोर्टमा कानुन विपरीत औषधि खरिदको सम्झौता भएको निष्कर्ष निकालेको छ।
लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफलमा ल्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो। तर, उनले समय दिएका थिएनन्।