काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरेको छ।
मन्त्रालयले बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह अध्यक्ष, स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका निर्देशक डा गुणराज लोहनी सदस्य र चिकित्सकका तर्फबाट डा गणेश दंगाललाई सदस्यमा नियुक्त गरेको जनकारी दिएको छ।
समितिका भक्तपुर नगरपालिका मेयर पदेन सदस्य रहने व्यवस्था छ। भक्तपुर जिल्ला अस्पतालका प्रमुख सदस्य रहने व्यवस्था छ।
११ सदस्यीय समिति पूर्णता हुनका लागि क्यान्सर सोसाइटीबाट ३ जना र २ जना समाजसेवीका तर्फबाट सदस्य सिफारिस हुन बाँकी रहेको छ।
अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेल समितिका सदस्य सचिवमा रुपमा रहका छन्।
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत नै सञ्चालन गर्ने निर्णय गरेको छ। कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो।
यसअघि भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको थियो। संस्थाको व्यवस्थापन र वैधानिकता माथि प्रश्न उठेपछि मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो।