काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफलका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको छ। उनलाई शुक्रबारको बैठकमा छलफलका लागि बोलाइएको समिति सभापति भरत साहले जानकारी दिए।
कोरोना संक्रमण सुरु भएसँगै नेपालमा स्वास्थ्य सामग्री खरिदको विषय अघि बढेको थियो। त्यतिबेला स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सेवा विभागमा आफू अनुकूलका महानिर्देशक ल्याएका थिए। उनले आफ्नो स्वार्थपूर्तिका लागि महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाएका थिए।
श्रेष्ठले पनि मन्त्रीको निर्देशनबमोजिम त्यसअघि औषधि खरिदका सबै प्रक्रिया रद्ध गरी २४ घण्टे टेन्डर गरेका थिए। सोही समयमा मन्त्री ढकालले विचौलिया कम्पनी ओम्नीसँग वार्ता गर्नका लागि कानुनविपरीत आफ्ना सल्लाहकार खेम कार्कीलाई संयोजक तोकेका थिए। उनैमार्फत् तीन घण्टाको समयावधिमा औषधि खरिद भएको थियो। तर ओम्नीले समयमा औषधि नदिएको आरोप लगाउँदै टेन्डर रद्ध गरिएको थियो।
गुणस्तरहीन औषधि खरिद भएको, आर्थिक अनियमितता गरिएको र कानुन उल्लंघन गरिएको आरोप लागेको थियो। कानुन उल्लंघन भएको विषय भने प्रमाणित भइसकेको छ। सार्वजनिक लेखा समितिको अनुरोधमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनमा कानुनविपरीत औषधि खरिदको सम्झौता भएको निष्कर्ष निकालिएको छ।
लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफलमा ल्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो। तर, उनले समय दिएका थिएनन्।