काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनियमिततामा आफ्नो संलग्नता नभएको बताएका छन्।
शुक्रबार संसदको सार्वजनिक लेखा समितिले बोलाएको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिदको विषयमा आफूले मन्त्री परिषदमा प्रस्ताव लैजाने कार्यमा सहजिकरणको भूमिका निर्वाह गर्ने काम मात्र गरेको बताए।
उनले चैत १२ गतेको बैठकमा आफू प्रमुख अथितिको रुपमा मात्र सहभागि भएको स्पष्ट पारे।
बैठकमा सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले आफू अनियमिततमा संलग्न नभएको तर काम छिटो गर्न पहल गरेको दाबी दोहोर्याए। अप्ठेरो स्थितिलाई मध्यनजर गरी छिटो छरितो काम गर्न पहल गरेको उनको भनाइ छ।
उनले आफ्ना मुख्य सल्लाहकार स्वास्थ्य सामाग्री खरिदको विषयमा जानकार भएकाले सुझाव दिनका लागि मात्र सहभागि भएको पनि बताए।
मन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिदको विषय स्वास्थ्य सेवा विभागका महानिर्देशकको अधिकार क्षेत्र भएको भन्दै त्यसको जिम्मेवारी महानिर्देशकले नै लिएको बताए।
उनले विभागका महानिर्देशकले नै स्वास्थ्य सामाग्री खरिद गर्ने कम्पनीलाई कालोचुसीमा राखिसकेको र स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानकै क्रममा रहेको बताए।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पीपीई लगायतका स्वास्थ्य सामाग्री विशेष परिस्थितिमा छोटो विधिबाट खरिद गर्न मन्त्रिपरिषदबाट नै निर्देशन भएको पनि मन्त्री ढकालको भनाइ छ।
मन्त्रिपरिषद्ले नै विशेष परिस्थितिमा स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय पहिला नै गरिसकेको र खरिद प्रक्रियाका सम्पूर्ण अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकको अधिकार भएकाले आफूले त्यसमा कुनै हस्तक्षेप नगरेको मन्त्री ढकालले बताए।