काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न भएको आरोप पुष्टि भए कारबाही भोग्न तयार भएको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन्।
'मेरो संलग्नता भएको पुष्टि भए कारबाही भोग्न तयार छु। अनियमितता अन्यले गरेको पुष्टि भए कारबाही गर्न तत्पर छु,' उनले भने, 'म कसैको परिबन्दमा परेर खरिद प्रक्रिया भएको होइन। नीतिगत निर्णयका लागि तत्परता लिएको हुँ। स्वास्थ्य सेवा विभाग महानिर्देशकको क्षेत्राधिकार प्रयोग गरेको छैन। खरिद प्रक्रियामा म सहभागी भएकै छैन।'
उनले मेडिकल सामग्री किन्ने ठेक्का ओम्नीलाई दिँदा एक रुपैयाँ पनि नदिइएको समेत दाबी गरे। 'ओम्नीलाई एक रुपैयाँ पनि दिएको छैन। एक रुपैयाँ पनि सरकारले चुक्ता नगरेपछि कसरी भ्रष्टाचार भयो?'
तत्कालीन समयको भयावह अवस्थाले गर्दा समान महँगो परेको उनको भनाइ छ। विशेष परिस्थितिमा मन्त्रिपरिषद्ले सार्वजनिक खरिद गर्न सक्ने व्यवस्था गरेकाले छोटोमा समयमा काम गर्न पहल गरेको उनले बताए। स्वास्थ्य सामग्रीको अभाव विदेशमा पनि भएकोले तत्कालै नेपालमा ल्याउन लामो प्रक्रियालाई छोट्याउने व्यवस्था गरिएको समेत उनले बताए।
'विदेशमा उत्पादित सामग्रीमा शक्तिराष्ट्रले हानथाप गरेको अवस्था थियो। महामारीको आतंक बढेको थियो। पिपिईको अभावमा काम गर्न नसकिने भनेर स्वास्थ्यकर्मीले ध्यानाकर्षण गराएका थिए,' उनले भने यस्तो अवस्थामा मन्त्रिपरिषद्बाट भएको नीतिगत निर्णय कार्यान्वयन गराउन मैले पहल गरेको हुँ। तर आर्थिक अनियमिततामा पार्ने गरी म संलग्न भएको छैन।'
गत वर्ष चैतमा सरकारले मेडिकल सामग्री खरिदको ठेक्का दिँदा व्यापक भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना भएको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत प्रक्रिया पूरा नगरी मेडिकल साम्रीको ठेक्का ओम्नी ग्रुपलाई जिम्मा लगाएको उल्लेख गरेको थियो।