काठमाडौं - चिसो बढेसँगै कान्ति बाल अस्पतालमा बिरामी भएर उपचारका लागि आउने बालबालिकाको संख्या बढ्न थालेको छ। विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउने बालबालिकाको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ।
हाल दैनिक करीब दुई सय बढी बालबालिका चिसोसँग सम्बन्धित बिभिन्न समस्याको उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए। अस्पतालमा आउने बिरामीमध्ये आधाभन्दा बढी बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या पाइने गरेको छ।
उनले भने, ‘कान्तिमा हाल दुई सय बढी बालबालिकामा चिसोका कारण बिरामी भएर आउँछन्। जसमध्ये आधा बढी बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ।’
यद्यपि गत वर्षको तुलनामा भने यो संख्या कम हो। गत वर्ष यही समयमा चिसोको समस्या लिएर आउने बालबालिकाको संख्या करिब पाँच सय हुने गथ्र्यो। हाल कोरोनाका कारण र विद्यालय बन्द हुँदा श्वासप्रश्वास सम्बन्धी समस्या कम देखिएको निर्देशक पौडेलले बताए।
‘अहिले कोरोनाको डरका कारण अस्पताल आउनेको संख्यामा कमी आएको छ’ उनले भने, ‘विद्यालय बन्द हुँदा पनि बालबालिकामा एक अर्कामा रोग अलि सर्न पाएन।’
श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउनेहरुमा रुघाखोकी, नाक बन्द हुने, घ्यार घ्यार गर्ने, खोकी, निमोनिया र ब्रोन्काइटिस हुने गरेको अस्पतालले जनाएको छ। घरभित्र तथा बाहिर हुने वायु प्रदुषण, भाइरल इन्फेक्सन, सरसफाईको कमी र चिसोका कारण बालबालिकामा श्वासप्रश्वसा सम्बन्धी समस्या बढी हुने गरेको उनले बताए।
चिसो मौसमा श्वासप्रश्वास सम्बन्धी समयस्या, भाइरल इन्फेक्सन, निमोनिया र छालाको संक्रमणको समस्या बढ्ने संभावना धेरै हुने उनले बताए।
बालबालिकालाई चिसोबाट बचाई सफाई र पोषणमा ध्यान दिन अभिभावकलाई उनको सुझाव छ। साथै न्यानोका लागि बन्द कोठामा ब्रिकेट, कोइला र हिटरको प्रयोग नगर्न उनको आग्रह छ।