काठमाडौं - देशभर हाल ३०८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २६० जना आइसियु र ४८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १८ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा १०२ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ६ जना आइसियु र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ आइसियुमा छन्। यो सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३३६ थियो।
यस्तै, देशभर हाल ४ हजार २६४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
७ हजार ७२९ कुल सक्रिय संक्रमितमध्ये ४ हजार २६४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार ६७ जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा २६७, प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा ६४१, लुम्बिनी प्रदेशमा ७२२, कर्णालीमा ११० र सुदूरपश्चिममा ४२२ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ४ हजार ५०८ जना संक्रमित होम आइसोलेसनमा थिए।