काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिठान (न्याम्स), वीर अस्पतालमा रहेका आवासीय चिकित्सकहरु कोभिड जोखिम भत्ता नपाएको भन्दै आन्दोलित भएका छन्।
कोभिड संक्रमित बिरामीको उपचारमा खटाएर अस्पताल प्रशासनले सरकारले निर्धारण गरेको जोखिम भत्ता नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। जोखिम भत्ता नदिएको विरोधमा उनीहरुले पुस ५ गतेदेखि हातमा कालो पट्टि बाँधेर सेवामा खटिने गरेका छन्। हरेक दिन दिउँसो एकबजे अस्पताल परिसरमा जम्मा भएर जोखिम भत्ताको माग गर्दै धर्ना समेत दिने गरेका छन्।
अस्पताल प्रशासनले आवासीय चिकित्सकहरुलाई कोरोना पोजेटिभ बिरामीको उपचारमा खटाए पनि जोखिम भत्ता भने नदिएको रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान) का अध्यक्ष डाक्टर किरण पाण्डेले बताए।
अस्पताल प्रशासनले कोभिड संक्रमितको उपचारमा खटाएर सरकारले निर्धारण गरेको जोखिम भत्ता दिने समयमा भने विभेद गरेको भन्दै आफूहरुले विरोध गरेको डा पाण्डेको भनाइ छ।
‘अस्पताल प्रशासनले फ्रन्टलाइनमा रहेर कोभिड बिरामीको उपचार गर्ने रेजिडेन्ट डाक्टरहरुलाई कोभिड जोखिम भत्ता दिएको छैन,’ डा पाण्डेले भने, ‘सुरुमा रेजिडेन्ट डाक्टरहरुलाई शतप्रतिशत भत्ता दिने हो भनेर काममा लगाउनु भयो तर,भत्ता भने पाएनौं। हामी रेजिडेन्ट चिकित्सकहरुलाई पनि समान ढंगले जोखिम भत्ता दिनुपर्छ भनेर हामीले विरोध सुरु गरेका हौं।’
वीर अस्पतालमा कोरोना संक्रमितकै उपचारमा खटिदा कतिपय रेजिडेन्ट चिकित्सक र उनका परिवारमा समेत कोरोना संक्रमण देखिएको डा पाण्डेले बताए।
‘संक्रमितको उपचार गर्दा कतिपय रेजिडेन्ट डाक्टर संक्रमित हुनुभयो, उहाँहरुको परिवारलाई समेत संक्रमण भयो, आइसियु भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्यो,’ उनले प्रश्न गरे, ‘एकजना रेजिडेन्ट डाक्टरका बाबुको मृत्यु नै भयो, यसरी आफू र आफ्नो परिवारलाई समेत जोखिममा राखेर खटिएका हामी रेजिडेन्ट चिकित्सकलाई जोखिम भत्तामा किन?’
डा पाण्डेले कोभिड संक्रमितको उपचारमा खटिने रेजिडेन्ट चिकित्सकहरुलाई पनि सरकारले बनाएको निर्देशिका अनुसार जोखिम भत्ता दिनुपर्ने आफूहरुको माग रहेको बताए। आगामी पुस १२ गतेसम्म हातमा कालोपट्टि बाँधेर सेवा दिने र एकसातासम्म पनि आफुहरुमा माग सम्बोधन नभए कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ।