काठमाडौं- केन्द्रीय कारागार अस्पतालको आयोजनामा नुवाकोटको त्रिशुलीस्थित नुवाकोट कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर भएको छ।
शिविरमा ६२ जना पुरुष र १२ जना महिला गरी ७४ जनाले उपचार सेवा लिएका छन्।
केन्द्रीय कारागार अस्पतालका प्रमखु मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीको नेतृत्वमा डा अमित यादवसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएको हो।
कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य जाँच, सुगर परीक्षण लगायतका सेवा दिनुका साथै औषधि समेत वितरण गरिएको डा तिवारीले जानकारी दिए।
उनका अनुसार कैदीबन्दीमा मानसिक रोग, पेटसम्बन्धी समस्या, छाला रोग, उच्च रक्तचाप, मधुमेह एवं श्वासप्रस्वास सम्बन्धि समस्या पाइएको थियो।
यसका साथै सो क्रममा नसर्ने रोग र कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका विषयमा पनि जनचेतनामुलक कार्यक्रम गरिएको थियो।
कारागारमा हाल १३९ पुरुष र १६ महिला गरी १५५ जना कैदीबन्दी रहेका छन्।