धनगढी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले महिनावरी स्वास्थ्य सम्बन्धी सचेतनामूलक पुस्तिका ल्याएको छ।
प्रदेशमा विकराल रुपमा रहेको छाउपडी प्रथालाई हटाउन र महिला स्वास्थ्यलाई प्रवद्र्धन गर्न नेपाल प्रजनन स्याहार केन्द्रको सहयोगमा मन्त्रालयले सो पुस्तिका ल्याएको हो।
मंगलबार पुस्तिकाका मन्त्रालयका मन्त्री कृष्णराज सुवेदीले विमोचन गरेका थिए। सो अवसरमा बोल्दै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशलाई छाउपडी प्रदेशका रुपमा चिनिने गरेको चर्चा गरे। उनले भने –‘काठमाडौंमा कतिपय कार्यक्रममा सहभागि हु“दा सुदूरपश्चिम प्रदेशलाई छाउपडीको प्रदेश भन्ने गर्छन। यसले हामीलाई लज्जावोध हुन्छ।’
उनले यो पुस्तिकाले पनि छाउपडी प्रथा हटाउनमा सहयोग गर्ने विश्वास व्यक्त गरे।
मन्त्री सुवेदीले भने –‘यो पुस्तिकालाई प्रदेशका ८८ वटै स्थानीय तहका हरेका वडाका घर–घरमा वितरण गरिनुपर्छ।’
मन्त्री सुवेदीले मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका चार वटा जिल्लामा छाउपडी विरुद्धको कार्यक्रम पनि सञ्चालन गर्ने बताए।
मन्त्रालयका डाक्टर जगदिश जोशीले महिनावरी प्राकृतिक विधि रहेको बताए। उनले भने –‘कानुनी ज्ञानको अभाव, छाउपडी सम्बन्धी व्यवस्था गरिएको कानुन कार्यान्वयन नहुनु लगायतले प्रदेशमा छाउपडी प्रथा कायमै रहेको छ।’
उनले सामाजिक कुरिति, अन्धविश्वास, अज्ञानता लगायतले महिलाहरुको प्रजनन स्वास्थ्यमा असर परिरहेको बताए।
नेपाल प्रजनन स्याहार केन्द्रका जगत उपाध्यायले सचेतना पुस्तिकामा छाउपडी प्रथा सम्बन्धीको विधमान कानुनी व्यवस्था, महिनावरी र प्रतिवन्धहरु, धर्मसंग जोडिएका प्रश्न तथा उत्तर, महिलाको हक तथा प्रजनन स्वास्थ्य सम्बन्धी संवैधानिक व्यवस्था, छाउपडी प्रथा विरुद्धको कानुनी व्यवस्था, महिनावरी प्रतिवन्ध तथा छाउपडी प्रथा विरुद्ध उजुरी कसरी गर्ने लगायतका विषयहरु समेटिएको बताए।
उनले भने –‘यो पुस्तिकाले महिलाहरुलाई महिनावरी सम्बन्धी थप सचेतना फैलाउन मद्दत पुग्छ।’
मन्त्रालयका उपसचिव गोविन्दप्रसाद पोखरेलले विमोचन भएको पुस्तिकाले सामाजिक सचेतना फैलाउनमा थप मद्दत पुग्ने बताए। उनले पुस्तिकालाई प्रदेशभरीका हरेक नागरिकको हात–हातमा पुर्याउन पनि आग्रह गरे।
कार्यक्रमको सञ्चालन मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खडकाले गरेका थिए।