काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप पश्चात हुनसक्ने अनपेच्छित घटना अनुसन्धान समितिको अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ डा धनराज अर्याललाई नियुक्त गरेको छ।
समितिका अध्यक्ष डा निलम अधिकारीको निधन भएपछि सो पद खाली रहेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुस ७ गते मन्त्रीस्तरीय निर्णय गर्दै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पूर्व बालरोग विशेषज्ञ डा अर्याललाई अध्यक्षमा नियुक्त गरेका हुन्।
मन्त्री ढकालले सदस्य पदमा वरिष्ठ प्याथोलोजिष्ट डा रंग बहादुर बस्नेतलाई मनोनय गरेका छन्।
खोप ऐन, २०७२ ले खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटनाको तत्काल अनुसन्धानगरी सोको प्रतिवेदन समिति समक्ष पेश गर्न एक अनपेच्छित घटना अनुसन्धान समिति व्यवस्था गरेको छ।
उक्त समितिमा वरिष्ठ बालरोग विषेशज्ञमध्येबाट मन्त्रालयले मनोनीत गरेको व्यक्ति अध्यक्ष, औषधि व्यवस्था विभाग, नेपाल पिडियाट्रिक सोसाइटीका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।
यस्तै, वरिष्ठ बालरोग विशेषज्ञमध्येबाट एकजना, वरिष्ठ जनस्वास्थ्य विज्ञ मध्येबाट एकजनन, वरिष्ठ प्याथोलोजिष्टहरु मध्येबाट एकजना सदस्य मनोनित हुने व्यवस्था छ।
परिवार कल्याण महाशाखा, खोप शाखाको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ।
समितिमा प्रा डा केदार बराल, डा रामहरि चापागाईँ, डा विनोद खेतान सदस्य छन्। समितिको सदस्य सचिवमा परिवार कल्याण महाशाखा खोप तथा बालस्वास्थ्य शाखा प्रमुख डा झलक शर्मा गौतम रहेका छन्।