काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १२ जना डाक्टरलाई प्रमाणसहित काउन्सिलमा उपस्थित हुन भनेको छ।
काउन्सिलले उनीहरुलाई शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको सक्कलै प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो।
काउन्सिलले जनकपुरकी डा प्रेक्षा साह, महोत्तरीका डा रोशनकुमार शाह, पर्साका डा शशिकान्त चौधरी, बाराका डा प्रतिमाकुमारी यादव, पर्साका डा धनंजयकुमार माली, उदयपुरका डा रजनिश खड्का, रौतहकी डा विनिता सिंह, पर्साकै डा पुष्करकुमार तिवारी, महोत्तरीका डा सिताराम सिंह कुशवाहा र डा कविता सिंह, सिरहाका डा दिपककुमार शर्मा र रौतहटका डा अजयकुमार अस्थानालाई बोलाएको हो।
काउन्सिलले काउन्सिल ऐन अनुसार दर्ता किताबको अभिलेख अध्यावधिक गर्न उनीहरुलाई प्रमाणसहित बोलाएको हो।
उनीहरुलाई काउन्सिलले यसअघि ०७६ फागुन २७ गते पत्र र फोन मार्फत जानकारी गराएको थियो। तर हालसम्म पनि उनीहरु प्रमाणसहित काउन्सिलमा नपुगेपछि सार्वजनिक सूचना जारी गरेको काउन्सिलले जनाएको छ।
काउन्सिलले उनीहरुलाई तीस दिनभित्र काउन्सिलमा उपस्थित हुन भनेको छ। यो अवधिमा उपस्थित नभए कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले जनाएको छ।