चितवन- चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो। केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गरिन्।
अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताइन्। भरतपुर आँखा अस्पतालमा पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताइन्।
वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना गाउँपालिकामात्र नभई छिमेकी जिल्ला गोरखाको गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताए।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफा भन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र सञ्चालन गरिरहेको बताए।
नेत्रज्योति सङ्घले देशका ३५० स्थानमा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ।
लायन्स क्लबका प्रथम डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेशनलले उपकरणहरु उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गरे। लायन्स क्लबले विशेषगरी आँखामा नै बढी काम गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रम गरी संरक्षणको भूमिका खेल्ने पनि बताए। रासस