काठमाडौं - काठमाडौं जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्। काठमाडौंमा कोरोनाका ३ हजार १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि ललितपुर र कास्कीमा पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित थिए। पाँच सय बढी सक्रिय संक्रमित रहने जिल्लाको संख्या घट्दै काठमाडौंमा मात्र सीमित भएको हो।
यस्तै, मुगु र रुकुम पश्चिममा भने शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ५ सय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा २ सय ९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७९ पुगेको छ। जसमध्ये १२ हजार ६ सय ५ जना उपचारपछि निको भएका छन् भने ४ सय ६० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि ३ हजार १४ जना सक्रिय संक्रमित छन्।
भक्तपुरमा हालसम्म ८ हजार ४ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ७ सय ७५ कुल संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अझै पनि १ सय ८७ जना उपचाररत छन्।
यस्तै ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ४१ पुगेको छ। १४ हजार ४ सय ५७ जना डिस्र्चाज हुँदा १ सय ४५ जनाको मृत्यु भएको छ। ललितपुरमा ४ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।