काठमाडौं– कोभिड–१९ विरुद्धको खोप आयातका लागि ४८ अर्ब रुपैयाँ आर्थिक सुनिश्चितताका लागि सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले सरकारले खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ रकमको आर्थिक सुनिश्चितता गरीसकेको बताएका हुन्।
उनले आवश्यक पर्ने रकमको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको पनि जानकारी दिए। डा गौतमले नेपालको कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १६ लाख मानिसलाई खोप दिने योजनाका साथ खोप प्राप्त गर्नेहरुको प्राथमिकिकरण निर्धारण गरिएको पनि जानकारी दिए।
डा गौतमका अनुसार पहिलो चरणमा अग्रपंक्तिमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरु र कोभिड संक्रमणको रोकथाम, व्यवस्थापन र उपचारमा खटिने व्यक्तिहरु करिब ९ लाख ११ हजारलाई खोप दिइने छ।
यस्तै खोप दिनका लागि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा दिर्घरोगी गरी करिव ५१ लाखलाई दोस्रो प्राथमिकतामा राखिएको छ।
४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख र १५ देखि ३९ वर्ष उमेरका १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना रहेको डा गौतमले जानकारी दिए।
कोभिड १९ विरुद्धको खोप आयतका लागि प्राविधिक कार्यपत्र तयार पारी मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको डा गौतमले बताए।
सरकारले खोप प्राप्तीका लागि खोप उत्पादक मुलुकलाई कुटनैतिक नोट पठाइएको र खोप प्रदान गर्न केही मुलुकहरु सकारात्मक प्रतिक्रिया दिइ कुटनितीक पहल भएको डा गौतमले बताए।
उनले कोभ्याक्स फ्यासिलिटीबाट नेपाल सहभागी भइसकेको र उक्त सुविधाबाट ६० लाख मानिसलाई सहुलियत दर वा निशूल्क रुपमा खोप प्राप्त हुने पनि बताए।
कोभ्याक्स सुविधाबाट खोप प्राप्त गर्न सरकारले गाबीलाई समयमै पत्राचार गरेको र प्राविधिक सहयोग तथा कोल्डचेन इक्युपमेन्ट सहयोगका लागि पनि तोकिएकै समयमा निवेदन पठाइएको उनले बताए।
यस्तै कोभिड खोप भण्डारणका लागि क्षमताको मुल्यांकन,आवश्यता अनुसार सरकारी र निजी क्षेत्रमा खोजी गर्ने काम भइरहेको पनि बताए। उनले खोप भण्डारण क्षमता विस्तारका लागि विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भवन निर्माण गर्न प्रस्ताव तयार गरी प्रकृया अघि बढाइएको जानकारी दिए।
यस्तै कोभिड–१९ खोप कार्ययोजनालाई अन्तिम रुपमा दिइएको र कोभिड–१९ खोप कार्यक्रम संचालन निर्देशिका तयार भइरहेको पनि डा गौतमले बताए।
डा गौतमले खोप आपुर्ति व्यवस्थालाई सहजीकरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु सम्मितिल सहजिकरण समिति गठन भइसकेको पनि जानकारी दिए। उनले कोभिड–१९ खोप सम्बन्धि विज्ञ समूह गठन गरी कार्य अघि बढाइएको पनि बताए।
डा गौतमले खोप ल्याउने कार्यलाई गति दिन खोप दु्रत योजना तयार गर्न ८ वटा उपसमिति गठन गरिएको उनले जानकारी दिए।
उनले मंसिर ४ गते आकस्मिक अवस्थामा औषधि तथा खोपको प्रयोग गर्ने आवश्यक कानूनी व्यवास्था गर्न औषधि ऐन २०३५ लाई अध्यादेश मार्फत संशोधन गरिएको पनि जानकारी दिए। यस्तै खोप लगाएपछि हुन सक्ने अवाञ्चित घटना अनुसन्धान समितिलाई पूर्णता दिइसकेको उनले बताए।
डा गौतमले पुस ६ गतेसम्ममा विश्वमा हालसम्म २८७ वटा खोपहरु बनाइ जनावरमा परीक्षण गरिएको र ६३ वटा खोप मानिसमा परीक्षणको क्रममा रहेको र ती मध्ये ३ वटा खोप प्रयोगको लागि अनुमति प्राप्त भएको डा गौतमले बताए।
उनले ती तीनवटा खोपमध्ये फाइजरबाट उत्पादिन खोपलाई बेलायत लगायत १४ देशले मान्यता दिएको, मोरोनाबाट उत्पादिन खोपलाई अमेरीका र क्यानडाले मान्यता दिएको र साइबोफामबाट उत्पादिन खोपलाई दुवई, चीन र वहराईनले मान्यता दिइसकेको डा गौतमको भनाइ छ।