काठमाडौं- नेपाल मेडिकल काउन्सिलको दर्ता प्रक्रिया अनलाइनबाट थाहा पाउन सकिने जनाएको छ। चिकित्सकले अनलाइनबाट दर्ता आवेदन दिन सकिने र सो आवेदनको प्रक्रिया कुन अवस्थामा छ भनेर थाहा पाउन सकिनेसमेत काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार अनलाईन दर्ता आवेदन दिनका लागि आफ्नो नामको युजर आइडी बनाएर लग इन गरी आवेदन दिन र त्यसको अवस्था पनि जानकारी लिन सकिने जनाएको छ।
अनलाइन दिइएको आवेदनको अवस्थामा 'भेरिफिकेसन अन प्रोसेस' भन्ने स्टाटस देखिए काउन्सिलबाट आवेदकको आवेदन रुजु हुन बाँकी छ भन्ने बुझ्नुपर्ने काउन्सिलले बताएको छ। आवेदन दिएको २ देखि ३ दिनभित्र रुजु हुने काउन्सिलको भनाई छ।
आवेदनको अवस्था 'इनकम्पिलिट' भनिएको छ भने आवेदकले भरेको अनलाईन दर्ता फारम पूर्ण नभएको र स्वीकृत नभएको भन्ने बुझिन्छ। कुनै कागजात अपुग भई वा अन्य कारणबाट अनलाइन फारम रद्द गरिएको भए सोको कारणसहित आवेदकलाई इमेलमा जानकारी गराइने र इमेलमा पठाइएकै 'इडिट लिंक'बाट ४८ घण्टाभित्र इडिट गरिसक्नुपर्ने काउन्सिलले सूचित गरेको छ। अन्यथा, ४८ घण्टापछि सो लिंक स्वतः निष्क्रिय हुने काउन्सिलले जानकारी दिएको छ। ४८ घण्टाको समयपछि इडिट गर्नुपर्ने भएमा काउन्सिलमा सम्पर्क राख्नुपर्नेछ।
यदि आवेदनको अवस्था 'अप्रुभ्ड' भन्ने स्टाटस आएमा आवेदन रुजु भई प्रमाणपत्र बन्ने प्रक्रिया रहेको बुझिने छ। प्रमाणपत्र रुजु भएको ५ देखि ७ दिनभित्र तयार हुने काउन्सिलको भनाइ छ। आवेदनको स्टाटस 'भेरिफाइड'को अवस्थामा भएको भएपनि प्रमाणपत्र तयार भएको भएको बुझ्नुपर्ने काउन्सिलले जनाएको छ। यसको १ देखि २ दिनभित्र प्रमाणपत्र लिन आउन एसएमएस मार्फत् जानकारी गराइने काउन्सिलले जनाएको छ। एसएमएस प्राप्त भएको २ भित्र वा एसएमएस प्राप्त नआए काउन्सिलमा सम्पर्क गर्न सूचित गरिएको छ।
