काठमाडौं– संयुक्त अधिराज्य (युके) बाट नेपाल आएको ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले हालसम्म ५ जनामा कोरोना पोजेटिभ आएको जानकारी प्राप्त भएको स्वास्थ्यखबरलाई बताए।
उनले भने, 'अहिलेसम्म ५ जनामा पिसिआर पोजेटिभ आएको भन्ने जानकारी पाएका छौं।'
युकेमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको तथ्य बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले गत पुस १ गतेदेखि नेपाल प्रवेस गरेकाहरुलाई पिसिआर परीक्षण गर्न आग्रह गरेको थियो।
सो अवधिमा नेपाल प्रवेश गरेका २७७ जना व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
उनीहरुमा देखिएको कोरोना भाइरस नयाँ रुपको भाइरस हो वा होइन भनेर पत्ता लगाउन कोरोना पोजेटिभ आएकाहरुको जीन सिक्वेन्सिङ गरेर थप अध्ययन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो पनि :
नयाँ रूपको कोरोना भाइरस नेपालमा फैलिने जोखिम कति?