दमक- दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग ( युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ।
दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब रु २९ लाखको लागतमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो। खोप केन्द्रको भवन बनाउन दमक–३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीयवासी करिब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुने बताइएकाे छ। रासस