काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिमको अवस्था रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कोरोना संक्रमणको उच्च जोखिमको अवस्थामै रहेको जानकारी दिएका हुन्। डा गौतमले विश्वमा कोरोनाको खोपको विकास भइरहेको शुभ संकेत देखिएको र खोप प्राप्तीका लागि सरकार योजनावद्ध तरिकाले लागेको पनि जानकारी दिए।
डा गौतमले कोरोना विरुद्धको औषधि पत्ता नलागेको अवस्थामा आफू र आफ्ना आफन्तलाई कोरोनाबाट बचाउन जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए।
‘हिँड्दा, बस्दा, काम गर्दा एकअर्कालाई संक्रमणको आशंकामा राखेर मानिसबाट मानिसको दुरी कम्तिमा २ मिटर कायम गरौं,’ डा गौतमले भने, ‘मास्कको सधैँ उचित तरिकाले प्रयोग गरौं, हातको सरसफाइमा ध्यान दिऊ, हातले नाक, मुख, अनुहार छुने बाँनी हटाऊ।’
डा गौतमले यस्ता बानीमा सुधार भए कोरोना संक्रमणबाट मात्र नभइ धेरै किसिमका सरुवा रोगबाट बच्न सकिने बताए।