काठमाडौं– सरकारले एन्टिजेन परीक्षण विधिबाट कोरोना परीक्षण गरी पोजेटिभ नतिजा आएकाहरुलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड–१९को एन्टिजेन परीक्षण सम्बन्धि निर्देशिका अनुसार एन्टिजेन परीक्षणमा पोजेटिभ नतिजा आउनेलाई कोरोना संक्रमित मानिने बताए।
डा गौतमले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिहरुलाई संक्रमित मानी उनीहरुको खोज अनुसन्धान र उपचार गराउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको समेत जानकारी दिए।