काठमाडौं- विगत ३ वर्षदेखि बन्द रहेको सुनसरीको दुहबीस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने भएको छ।
नर्भिक इन्टरनेशनल हस्पिटलले उक्त अस्पताललाई आधुनिक सेवासुविधासँगै पुनः सञ्चालन गर्न लागेको छ।
औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा रहेको उक्त अस्पतालको मर्मतसम्भार र आधुनिक उपकरण जडान गरी ६ महिनाभित्र सञ्चालन गरिने नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले जानकारी दिए।
नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष चौधरीले नर्भिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत दुहबीको सो अस्पताललाई पुनः संचालनमा ल्याउन ५ करोड रुपैयाँ बढी लगानी गर्ने बताए।
दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको उनले बताए।
‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं।’
बन्द हुनुअघिसम्म १५ शय्या क्षमतामा सीमित सो अस्पताललाई २५ शय्यामा स्तरोन्नति गरिने बताइएको छ। नर्भिकबाटै पनि स्वास्थ्यकर्मीको टोली अस्पतालमा गएर सेवा बताइएको छ।
चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए।
तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।
सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो।