काठमाडौं- कान्ति बाल अस्पतालले बाल मानसिक रोगको सेवा दिनका लागि निर्माण गरेको भवनको उद्घाटन गरिएको छ। अस्पतालको ५९औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उक्त भवन उद्घाटन गरेका हुन्।
बाल श्रमिक सरोकार केन्द्र (सिविन) र नर्भे सरकारको सहयोगमा उक्त भवन निर्माण गरिएको अस्पतालले जनाएको छ। बाल मानसिक रोगको बहिरङ्ग विभागको रुपमा उक्त भवनबाट सेवा सुरु गरिने अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए।
कान्ति बाल अस्पतालले विगत पाँच वर्षदेखि बाल मानसिक रोगको सेवा सञ्चालन गरिरहेको छ। बालबालिमा हुने मानसिक समस्या तथा रोगहरुको परामर्श, निदान, परीक्षण र उपचार हुने अस्पतालले जनाएको छ।
भवनको शिलन्यास २०७३ सालमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले गरेका थिए। किशोर–किशोरीमा हुने मानसिक स्वास्थ्य समस्यालाई पनि व्यवस्थापन गर्ने उद्देश्य रहेको पौडलले बताए।