हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न शुरुआत गरेको छ। उनीहरुलाई निमन्त्रणा कार्ड घर घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो।
गर्भवती समूहका मासिकरुपमा बस्ने बैठकमा नै गाउँपालिकाले सम्मान गर्न शुरु गरेको हो। सम्मानका लागि उनीहरुलाई उपस्थित हुने वातावरण सिर्जना गर्न निमन्त्रण कार्डको व्यवस्था गरिएको हो।
अघिल्लो दिन निमन्त्रणा कार्ड पाएर बैठकमा जानुको गर्व अर्कै हुने खार्पुनाथ–४ छिप्राकी बेलमती टमटाले जानकारी दिए। यसअघि यस्तो समूह नभएको र बैठक पनि हुने गरेको थिएन।
उनले स्वास्थ्य स्वयंसेविकाले निमन्त्रण कार्ड लिएर बैठकका लागि निम्ता दिन आउने गरेको र बैठकमा सम्मान समेत गर्ने बताए। गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले भने, 'गाउँपालिका भरीका सबै गर्भवतीलाई मासिकरुपमा हुने बैठकमा उपस्थिति गराउनका लागि निमन्त्रणा कार्डको व्यवस्था गरेर बोलाउने गरीएको छ। बैठकमा सम्मान समेत गर्ने गरिएको छ ।'
गर्भवतीको सम्मानका लागि उक्त कार्डको व्यवस्था गरिएको उनले बताए। बैठक अगाडि गर्भवतीले मासिक बैठकमा आउने कार्ड पाएपछि उहाँहरु बैठक आउने र छलफलमा भाग लिने गरेका छन्।
गर्भवतीको मासिक बैठक प्रत्येक महिनाको २८ गते बस्ने व्यवस्था गरिएको छ। निमन्त्रणा कार्डमा गर्भजाँच गराउन र प्रसूतिगृहमा सुत्केरी भएबापत पाउने सुविधा कुरा उल्लेख समेत गरिएको छ। रासस