काठमाडौं- नौं वटा मेडिकल कलेजका विद्यार्थीहरु मिलेर दुई हजार जनालाई न्यानो कपडा वितरण गरेका छन्।
'न्यारो बाडौं खुसी बाडौं ' भन्ने नाराका साथ मेडिकल विद्यार्थीहरुले राष्ट्रव्यापी न्यानो कपडा दान अभियान अन्तर्गत कपडा वितरण गरेका हुन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज जोरपाटी, लुम्बिनी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, देवदह मेडिकल कलेज, जानकी मेडिकल कलेज र काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेजका विद्यार्थीहरुले कपडा संकलन तथा सहयोग गरी वितरण गरिएका हुन।
उनीहरुले शनिबार काठमाडौंको बल्खु बस्ती जागरण टोलमा रहेका ५ सय घरधुरीका १५ देखिमाथिका महिला तथा पुरुषको लागि उपयुक्त हुने कपडा वितरण गरेका हुन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी कृष्ण बहादुर चन्द सोडारीले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले नयाँ तथा पुरानो कपडा संकलन गरी जागरण टोलमा रहेका सुकुम्बासी बस्तिका मानिसहरुलाई कपडा वितरण गरिएको जानकारी दिए।