काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको एक जना सचिवको पद चाँडै पूर्ति गरिने बताएका छन्।
मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्।
'मन्त्रालयमा रिक्त रहेको स्वास्थ्य सचिवको पदमा नियुक्त गर्न सरकार सकारात्मक छ। रिक्त पदमा छिटै सचिव नियुक्त हुनेछ,' मन्त्री त्रिपाठीले भने।
उनले यसका लागि प्रक्रिया अगाडि बढाइने र छिटै नियुक्त गर्न तयारी भइरहेको उनको भनाइ छ।
मन्त्रालयमा दुई जना सचिवको पद छ। त्यसमध्ये हाल एक जना मात्र सचिव छन्। प्रशासन सेवाका सचिवमा लक्ष्मण अर्याल छन् भने प्राविधिक सेवाका स्वास्थ्य सचिवको पद दुई वर्षदेखि रिक्त छ।