काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिलाई सम्बन्धित बिमा कम्पनीमा भेरिफिकेसनको अवस्था बुझ्न अनुरोध गरेको छ।
मन्त्रालयले कोरोना बीमा दाबीका लागि पेसका विवरणहरु भेरिफिकेसन गर्दा विवरण अपुग भएकाले बिमितले सम्बन्धित कम्पनीसँग अवस्था जानकारी लिन अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रलायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिमा समितिबाट जारी भएको कोरोना बिमा मापदण्ड, २०७७ बमोजिम समितिमा प्राप्त भएका विवरणमध्ये कतिपयको विवरण भेरिफिकेसन गर्दा नाम, थर, उमेर, ठेगाना, पिसिआर नजिता रिर्पोट मिति जस्ता न्यूनतम विवरण अपूर्ण भएको जनाकारी दिए।
उनले कतिपय बिमितको विवरण मन्त्रालयका रहेका तथ्यांकसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताए।
उनले आज सुचना जारी गर्दै बिमितहरुलाई भेरिफिकेसनको अवस्थाबारे सम्बन्धित बिमा कम्पनीसँग जानकारी लिन अनुरोध गरेका छन्।
हालसम्म स्वास्थ्य मन्त्रालयमा ९ हजार २९२ जनाको भेरिफिकेसन सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रलायले बिमितिले पिसिआर परिक्षणका लागि व्यक्तिगत विवरण दिँदा बिमा सदस्य हुँदा दिइएको नाम, थर उमेर, ठेगाना स्पष्ट दिन समेत अनुरोध गरेको छ। साथै,प्रयोगशालाहरुले परिक्षण नतिजा दिँदा स्वास्थ्य मन्त्रलाय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा दैनिक प्रतिवेदन पेस गरेको मिति अनुसारको वास्तविक नजिता प्रदान गर्न गराउन पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।
