काठमाडौं- क्रान्तिकारी माओवादीनिकट भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले दलित कोटामा पढ्दै गरेका रामजी राम र पंकज रामलाई परीक्षामा सामेल गराउन आग्रह गरेको छ।
युनियनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दलित कोटाअन्तर्गत एमबिबिएस पढिरहेका उनीहरूलाई परीक्षा हलबाट निकालिएको प्रति आपत्ति जनाउँदै परीक्षामा सामेल गराउन आग्रह गरेको हो।
‘यही पुष २७ गतेदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षामा सहभागी दुई दलित विद्यार्थी रामजी राम र पंकज रामलाई विरगञ्जस्थित नेसनल मेडिकल कलेजको परीक्षा हलबाट निकालकोप्रति हाम्रो संगठन उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत उहाँहरूलाई जबर्जस्त रूपमा कलेज प्रशासनले मनपरी शुल्कको लागि ताकेता गर्नु रचिकित्सा शिक्षा आयोग समेत यसमा गैह्रजिम्मेवार बन्नुले हामीलाई थप गम्भीर बनाएको छ।’
‘अविलम्ब उहाँहरूलाई परीक्षामा सामेल गराउन नेपाल सरकार, सम्बन्धित निकाय र कलेज प्रशासनसमक्ष हार्दिक अनुरोध गर्दछौं,’ उनीहरूलाई परीक्षामा सामेल नबनाए संघर्षमा उत्रने चेतावनी दिँदै युनियनले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘अन्यथा,सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं।’