लमजुङ- लमजुङमा सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा बुधबारदेखि सुरु भएको हो।
नेपालको ६४ औं जिल्लाको रूपमा पुस २९ गतेबाट बीमा कार्यक्रम सुरु गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाका जनप्रतिनिधीहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेका हुन्।
स्वास्थ्य बीमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ। जिल्लाका ७५ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गरिएको छ।
नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्त अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति विसं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको बताए।
स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप रु ७०० बीमा रकम तिर्नुपर्ने व्यवस्था छ।
स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन्।
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु २० हजार थप गरी रु दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ।