काठमाडौं- राधा क्यान्सर सचेतना फाउण्डेसनले दुई लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना गरेको छ।
घरेलु हिंसा र स्तन क्यान्सरका कारण निधन भएकी नवलपुरकी पत्रकार स्वर्गीय राधा बस्यालको जन्म जयन्तीको अवसरमा फाउण्डेसनले अक्षय कोष स्थापना गरेको हो। अक्षय कोषको स्थापनासँगै फाउण्डेसनले राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कारको पनि घोषणा गरेको छ।
अक्षय कोषको वार्षिक आउने ब्याज रकमबाट हरेक वर्ष क्यान्सर र हिंसा विरुद्धमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले बताए।
देशैभरका पत्रकारले यस वर्षको वैशाखदेखि मसान्तसम्म प्रकाशन/प्रशारण गरेका क्यान्सर सचेतना र हिंसा विरुद्धका तीन वटा लेख पठाउनुपर्ने फाउण्डेसनले जनाएको छ।
पत्रकारलाई क्यान्सर सचेतना र हिंसा विरुद्ध कलम चलाउन प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको फाउण्डेसनकाको भनाई छ।