टीकापुर - नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ।
टीकापुर क्षेत्रमा शव वाहन नहुँदा समस्या हुँदै आएको थियो। अब भने पहिलेको जस्तो ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यताको अन्त्य भएकोे छ।
टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले संयुक्त रुपमा अस्पताललाई शव वाहन हस्तान्तरण गरेका हुन्।
समूहका संयोजक सञ्चारकर्मी प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउदले शव वाहनको साँचो अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई आइतबार हस्तान्तरण गरेका हुन्।
संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकामा खुशी लागेको र आगामी दिनमा टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए।
अस्पताल विकास समितिका अध्यक्ष रावलले शव वाहन खरिद गरी हस्तान्तरण गरेकामा दुवै संस्थालाई धन्यवाद दिँदै स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको बताए।
रासस