काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आइसियुमा कार्यरत चिकित्सक सविन भण्डारीमाथि गरिएको दुर्व्यवहारप्रति सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।
ड्युटीमा खटिएका चिकित्सक भण्डारीमाथि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए।
सोसाइटीले आज दिउसो स्वास्थ्य सेवामा खटिएका चिकित्सक माथि नै अमानवीय घटना घटाउनुले कानुनी राज्यको प्रत्याभूतिम माथि नै गम्भीर प्रश्न उठाएको जनाएको छ।
सोसाइटी अध्यक्ष प्राडा गेजुनाथ पोखरेल र महासचिव डा नविन्द्रराज विष्टले प्रेस विज्ञप्ति जारी गर्दै सोसाइटीका आजिवन सदस्य डा भण्डारीमाथि शारीरिक हमला, गाली गलौज तथा तोडफोड हुनु निन्दनीय भएको भन्दै घटनामा संलग्न दोषिलाई कडा कानुनी कारवाही गर्न सरकारसँग माग गरेका छन्।
चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले यस्ता प्रकार अस्वभाविक गतिविधिमा संलग्न व्यक्तिहरुलाई ‘विना धरौटी हिरासतमा लिइ जेल चलान’ को प्रावधानलाई प्रचलित कानुनमा मै व्यवस्था गर्न पटकपटक माग गर्दै आएको भन्दै सोसाइटीले सरकारको ध्यानाकर्षण गराएको छ।