काठमाडौं- चीनमा चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तहमा छात्रवृत्तिमा अध्ययनका लागि आवदेन खुला गरिएको छ।
चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै चीनमा छात्रवृत्तिमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवदन खुला गरेको हो।
चीन सरकारले सन् २०२१/२२ को शैक्षिक सत्रमा नेपाली विद्यार्थीका लागि स्नातकोत्तर तहको विभिन्न २० वटा विषयमा ४२ सिटमा छात्रवृत्ति दिने जनाएको छ।
चीन सरकारले छात्रवृत्तिको विषय र सिट निर्धारण गरी आयोगलाई छात्रवृत्तिमा उम्मेद्वार छनौट गरी सिफरिस गर्न पत्राचार गरेको थियो।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाका अनुसार चीनमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सफल भएको योग्यताक्रम खुल्ने प्रमाणसहितको कागजात पेस गरी आवदेन दिन सक्ने जानकारी दिए।
यस्तै सरकारको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको हकमा सरकारसँग गरेको कबुलियत बमोजिमको सेवा पूरा गरिसकेको प्रमाण पेस गर्नुपर्ने जनाएको छ।
चीनमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले एकसाताभित्र आयोगमा आवेदन दिन सक्नेछन्।