काठमाडौं– नेपालका तीनजना वरिष्ठ आँखा रोग विशेषज्ञ भिजन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन्।
वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर राम प्रसाद पोखरेल, डाक्टर गोपाल प्रसाद पोखरेल र डाक्टर सन्दुक रुइतलाई सम्मान गरिएको हो।
आँखा स्वास्थ्यको कार्यक्रममा योगदान दिने विश्वको १०० जना चिकित्सक भित्र पर्न सफल तीनजना चिकित्सकलाई नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योती संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
उक्त अवार्ड प्राप्त गर्न सफल डाक्टर रामप्रसाद पोखरेल नेपाल आँखा अस्पताल र नेत्रज्योती संघका संस्थापक अध्यक्ष हुन्। उनी अहिले नेत्रज्योती संघको संरक्षकको पदमा रहेका छन्।
यस्तै डाक्टर गोपाल प्रसाद पोखरेल नेपाल आँखा अस्पतालका अध्यक्ष हुन्। अन्धोपना निवारणमा योगदान पुर्याइएको भन्दै सम्मानित भएका डा सन्दुक इरुत तिलगंगा आँखा अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक हुन्।
इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइडनेस (आइएपिबी) नामक संस्था र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा सन् १९९९ मा भिजन २०२० नामक कार्यक्रमको घोषणा गरी अन्धोपना निवारणका लागि आँखा स्वास्थ्यको कार्यक्रम संचालन गरिएको थियो।
उक्त कार्यक्रमको २० वर्ष पुरा भएको र कार्यक्रम सफल भएको अवसरमा अन्धोपन निवारणका लागि २० वर्षसम्म आँखा स्वास्थ्य कार्यक्रममा योगदान पुर्याइएका विश्वका १०० जना चिकित्सकलाई सो अवार्ड प्रदान गरिएको थियो। सोही अवार्डबाट नेपालमा तीनजना चिकित्सक पनि सम्मानित भएका हुन्।