तस्बिर: सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे फेसबुकबाट
काठमाडौं- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले लकडाउन र निषेधाज्ञाका बाबजुद पनि एक वर्षको समयमा ७७ हजारभन्दा बढीलाई स्वास्थ्य उपचार सेवा प्रवाह गरेको छ। अस्पतालको वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै डा अधिकारीले यस्तो विवरण सार्वजनिक गरेका हुन्।
अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले २०७६ पुसदेखि २०७७ पुससम्मको अवधिमा ७० हजार ४२४ जना बिरामीलाई बहिरंग सेवा प्रवाह गरिएको जानकारी दिएका हुन्। यीमध्ये ७ हजार २४० बिरामीहरुलाई अस्पताल भर्ना गरेरै उपचार सेवा दिएको समेत उनले बताए।
कोरोना संक्रमणको कारण अस्पतालमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बिरामीको संख्या कम भएको डा अधिकारीको भनाइ छ।
अस्पतालले १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको उपचार, बिना अप्रेसन मुटुको साँघुरिएको भल्भ खोल्नेलगायतका उपचार सेवा दिएको पनि जानकारी दिए। उनीहरुको स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट उपलब्ध गराएको डा अधिकारीको भनाइ छ।
कोरोना महामारीको समयमा पनि अस्पतालले कुनै पनि सेवा बन्द नगरेको उनको भनाइ छ। यस्तै कोभिड–१९ संक्रमितको समेत उपचार गरिएको र उनीहरुबाट कोरोना संक्रमण भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उपचार तथा क्वारेन्टाइनको व्यवस्थापनसमेत गरिएको डा अधिकारीले जानकारी दिए।
२०५२ सालमा स्थापना भएको गंगालाल अस्पतालमा हाल २३९ बेड क्षमता छ। गंगालाल अस्पतालमा २०५५ सात पुस १५ गतेदेखि मुटु रोगको बहिरंग सेवा सुरु भएको थियो।
गंगालाल अस्पतालमा हालसम्म १९ लाख बिरामीले बहिरंग सेवामार्फत् स्वास्थ्य परीक्षण गराएका छन् भने २५ हजार बिरामीको मुटुरोग सम्बन्धी शल्यक्रिया गरिएको छ।