काठमाडौं- बारबरा फाउन्डेसनले कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी तथा पत्रकारहरूलाई सम्मान गरेको छ।
फाउन्डेसनले उनीहरुलाई विभिन्न ५ विधामा ‘कोभिड-१९ विशिष्ट सम्मान’बाट सम्मानित गरेको हो।
कोरोना महामारीविरुद्धको लडाइमा अग्रणि भूमिका निर्वाह गरेको भन्दै फाउन्डेसनले संस्थागततर्फ ललितपुरस्थित पाटन अस्पताल, नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई सम्मान गरेको छ।
यस्तै चिकित्सकतर्फ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राडा सुवास प्रसाद आचार्य, कोशी अस्पतालका डा डेनप्रसाद आचार्य र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलालाई सम्मान गरिएको छ।
फाउन्डेसनले शिक्षण अस्पतालका डा आचार्यलाई १ लाख एक रुपैयाँ, कोशी अस्पतालका डा आचार्य र डा अनुपलाई ६० हजार १ रुपैयाँ नगद राशिसहित सम्मान गरेको छ।
यस्तै नर्सिङ विधातर्फ वीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत नर्स भगवती बडाल र नारायणाी अस्पताल, वीरगञ्जकी नर्स श्रुति साहलाई ५० हजार एक रुपैयाँसहित सम्मान गरिएको छ।
यस्तै पत्रकारिता विधातर्फ पत्रकारहरू सागर बुढाथोकी र फातिमा बानु र वर्षा शाहलाई सम्मान गरिएको छ। संस्थागत सञ्चारमाध्यमतर्फ नेपाल न्युज नेटवर्कलाई पनि ५० हजार एक रुपैयाँ सहित सम्मान गरिएको छ।
फाउन्डेसनले कोभिड-१९ विशिष्ट सम्मानमा स्वास्थ्य सहयोगी कर्मचारीतर्फ भेरी अस्पतालकी स्वास्थ्य सहयोगी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हेल्थ असिस्टेन्ट रमेश काफ्ले र आरएनए-१६ स्वयंसेवी समूहलाई ५० हजार एक रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरेको छ।
सम्मान कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष डा सन्दुक रुइतले कोभिड-१९ विरुद्धको लडाइमा साहसका साथ अग्रपंतिमामा खटिएर स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकहरुलाई धन्यवाद दिए।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले कोरोना संक्रमितको उपचारमा खटिँदा घरबेटी तथा समाजले नै अपहेलित गर्दासमेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु त्यसबाट विचलित नभई कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिएको बताए।
उनले सम्मानित भएका चिकित्सक तथा स्वास्थ्यकर्मी सीमित भएपनि कोरोना महामारीविरुद्धको लडाइमा हजारौं स्वास्थ्यकर्मीहरू खटिएको भन्दै सबै स्वास्थ्यकर्मीलाई निरन्तर आफ्नो सेवामा लाग्न आग्रह समेत गरे।