रुपन्देही- लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सङ्घीय सरकारअन्तर्गत रहेको औषधि विभागलाई सङ्घीय संरचनाअनुसार प्रदेशमा पनि विस्तार गर्नुपर्ने बताएका छन्।
बुटवलमा आज आयोजित नेपाल औषधि व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा मन्त्री बरालले केन्द्रले औषधि विभागलाई प्रादेशिक संरचनामा विस्तार गरेमा विभागको प्रभावकारिता बढ्ने बताए।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले विभागमा देखिएको जनशक्ति व्यवस्थापनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायी र सरकारबीच समन्वय बढाउने बताए।
लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले कार्यक्षमतामा देखिएका समस्यालाई निराकरण गर्न व्यवसाय सहायक तालिमको आवश्यक रहेको बताए।
तदर्थ समितिका सहसंयोजक अभयकुमार बस्नेतले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण मानिएको औषधि आपूर्तिमा योगदान पु¥याउँदै आएका व्यवसायीको समस्यालाई लिएर सरकार थप गम्भीर बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा सङ्घले प्रकाशित गरेको ‘सन्देश’ नामक पुस्तक विमोचन गरिएको छ।
सङ्घीय संरचनाअनुसार सङ्घको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो। अधिवेशनले आगामी तीन वर्षका लागि प्रदेशस्तरको नेतृत्व चयन गर्दै छ।
विसं २०३० असार १० गते स्थापना भएको सङ्घमा देशभर करिब २८ हजार बढी व्यवसायी रहेका छन् भने लुम्बिनी प्रदेशका १२ जिल्लामा करिब चार हजार ८०० व्यवसायी रहेका छन्।
रासस