काठमाडौं- नेपालमा एक वर्षमा देशभर करिब दुई हजार कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा १ हजार ८ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएको जानकारी दिएको छ।
महाशाखाले कुष्ठरोगका बिरामी तथा प्रभावितहरुप्रति हुने सामाजिक भेदभावलाई शून्यमा झार्नु चुनौतीपूर्ण भएको समेत जनाएको छ।
कुष्ठरोग निवारण प्रति दस हजार जनसंख्यामा १ भन्दा कममा झार्ने सरकारको लक्ष्य छ। तर हरेक वर्ष कुष्ठरोगका नयाँ बिरामी पत्ता लागिरहेको अवस्थामा लक्ष्य प्राप्ति थप चुनौतीपूर्ण भएको छ।
महाशाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्छ। यो एक प्रकारको कम सर्ने रोग हो। सुरुकै अवस्थामा रोगको निदान र उपचार भए यो रोग अरुमा नसर्ने महाशाखाको भनाइ छ।
यो रोग मानिसबाट मानिसमा सर्छ। उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ। सुरुको अवस्थामा यो रोगको निदान र उपचार गरे यो रोग अरुलाई सर्दैन।
महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १ मा २ सय ८४, प्रदेश २ मा ६ सय, बागमती प्रदेशमा २ सय ८, गण्डकीमा ९१, लुम्बिनीमा ४ सय ७८, कर्णालीमा ५५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३७ जना भेटिएका छन्।
गत वर्षको अन्त्यसम्ममा २ हजार ४४ जना बिरामी उपचारमा थिए। नयाँ भेटिएका बिरामीमध्ये १ सय ४१ जना १४ वर्ष मुनिका र ७ सय ७० जना महिला रहेको बताइएको छ।