आदरणीय शिक्षामन्त्री एवं सिटिइभिटी उपाध्यक्षज्यू, नमस्कार। यतिबेला म जस्ता सिटिइभिटीतर्फका लाखौं विद्यार्थी आश्चर्यचकित छौं।
म नेपालको एक दुर्गम जिल्ला बाजुराको मार्तडीबाट स्वास्थ्य जस्तो संवेदनशील विषय अध्ययनपछि आफ्नै गाउँ-क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने हेतुले सहर पढ्न पसेको मान्छे हुँ।
विगत एक वर्ष अगाडि गाउँबाट लगाएको एकसरो कपडा र केही थान ओढ्ने-ओछ्याउने बोकेर बुटवल झरेको थिएँ। बुटवलमा आएर कलेज भर्ना पनि भएँ तर कलेज भर्ना भएको जम्मा ३ महिना बित्दानबित्दै संसारभर फैलिएको कोभिड-१९ को प्रभाव नेपालमा पनि देखियो र फलस्वरुप लकडाउन सुरु भयो। विद्यालय, क्याम्पस, ट्युसन सेन्टर सबै बन्द भए।
मन्त्री एवं उपाध्यक्षज्यू, केही समय त हामी सबै अन्योलमा थियौं र रातदिन समाचार हेर्दै गर्यौं। तर लकडाउन थपिँदै गयो। पढाइको चिन्ताभन्दा भाडा र रासनपानीको चिन्ता बढ्न थाल्यो। म साथीको कोठामा शरण लिन पुगें।
छाक त जसोतसो टारेकै थियौँ तर मलाई पेटको भोकभन्दा पढाइको भोक बढी थियो।
लकडाउन र बढ्दो महँगीले गर्दा जसोतसो गाउँका दाइहरुको सम्पर्कमा आएर म घर (बाजुरा) फर्किएँ।
समय बित्दै गयो। लकडाउन सकिएको पनि लामो समयपछि मात्र सिटिइभिटीले अनलाइन कक्षा पढाउन उर्दी जारी गर्यो रे भन्ने सुनें। मेरो गाउँमा मोबाइल त राम्रोसँग टिप्दैन, अनलाइनको त कुरै गर्नु परेन।
अलि समयपछि सहर फर्किएँ। सबै कोर्स अनलाइन पढाइ भयो। अब कलेजमा पढाइ हुँदैन, वार्षिक परीक्षाको तयारी गर्नु भन्ने सूचना कलेजले दियो।
म जस्ता दुर्गमका कुनाकन्दराबाट प्राविधिक शिक्षा लिन आएका थुप्रै साथीहरू गाउँ फर्केका थिए। फर्केर आउँदा सिधै परीक्षा हुने कुराले मलाई अचम्म लाग्यो। दु:ख लाग्यो। कताकता रिस पनि उठ्यो। तर सिटिइभिटीको सूचना पर्खिएको थिएँ। अन्ततः सिटिइभिटीबाट पनि वार्षिक परीक्षा फारम खुल्यो। म त छक्क परें अनि पीडा पनि भयो। 'खाए खा नखाए घिच' भने झैँ भयो।
मन्त्री एवं सिटिइभिटीका उपाध्यक्षज्यू, कलेज भर्ना भएर ३ महिना पढाइ नहुँदै कोभिड-१९ र त्यसपछिको लकडाउनका कारण अभ्यासमा आधारित शिक्षा अनलाइनबाट लिनुपर्ने? त्यसमा मेरो अस्वस्थताको बारेमा खोई कसले सोच्यो?
सिटिइभिटीले परीक्षा फारम पनि खुलायो, पछि कलेज पनि खुल्यो। खुल्दाको दिन प्रि-फाइनल भनेर सूचना पनि टाँस भयो। जबर्जस्ती प्रि-फाइनल परीक्षा दिइयो। सिटिइभिटीले फाइनलको रुटिन निष्काशन पनि गर्यो र अहिले आएर अन्यत्र सेन्टर तोकिएको छ। अब फाइनल दिने दिन नजिकिँदै छ।
मन्त्रीज्यू, यस्तो अवस्थामा विद्यार्थीको मनोदशा, भावनात्मक विचार आदिको त कुरै छोडौ; पाठ्यभार; आन्तरिक मूल्यांकन, सहजता, घरेलु परीक्षा केन्द्र सबै कुरालाई बेवास्ता गरेर किन एकाएक परीक्षालाई पुरानै ढाँचामा लिने निर्णय गरियो?
वर्षभरिको पाठ्यक्रम सकेका कक्षाहरु जस्तै: एसइईको आन्तरिक मूल्यांकन हुँदैगर्दा, ११ को कलेजले नै परीक्षा लिने र उत्तरपुस्तिका पनि कलेजमै जाँच्दैगर्दा, १२ को अंकभार कम गर्दैगर्दा, आंशिक आन्तरिक मूल्यांकन हुँदैगर्दा हामी राम्रोसँग पाठ्यक्रम पूरा नगरेका प्राविधिक विद्यार्थीलाई जबर्जस्ती नोट थमाएको भरमा पुरानै ढाँचामा परीक्षा लिई गुणस्तरीय नतिजाको आश गर्नु न्यायोचित होला?
शिक्षामन्त्री एवं सिटिइभिटीका उपाध्यक्षज्यू, अझै पनि सुधार गर्न मिल्ने समय छ, ठाउँ छ। पाठ्यभार र अंक भार घटाएर घरेलु परीक्षा केन्द्र बनाई केही सजिलो बाटो बनाइदिएमा हामीजस्ता विद्यार्थीलाई न्याय हुने थियो कि?