काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा भेटिएको बर्डफ्लू नियन्त्रणका लागि आवश्यक तयारी गरिसकिएको बताएको छ। बर्डफ्लू नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रुपमा बसेको सहसचिव डा. निर्मलले बताएका हुन्।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको जानकारी दिए।
कुनैपनि फार्ममा बर्डफ्लू पुष्टि भएमा तत्काल र्यापिड रेस्पोन्स टिमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि उनको भनाइ छ। नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लू देखिएको छ।
नेपालमा देखिएको बर्डफ्लूबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारे। नेपालमा देखिएको बर्डफ्लूको भाइरस रहेको पनि बताए।
जुन भाइरस विगतमा देखिएको भाइरसभन्दा कम खतरायुक्त रहेको डा. निर्मलको भनाई छ। तर पुरानो र नयाँ प्रकृतिकको भाइरस मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि उनको भनाइ छ। मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोस्टलाई सतर्क रुपमा राखेको बताइएको छ।
सहसचिव डा. निर्मलले मासु व्यवसायी र कुखुराको प्रत्यक्ष सम्पर्कमा हुने किसानले ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउनसमेत आग्रह गरे।
मन्त्रालयले कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनको भनाइ छ। मन्त्रालयले स्थानीय निकायहरुसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर बिक्री वितरण गरेको पाइए कारबाही गर्ने समेत बताए।