काठमाडौं- कोरोनाको त्रासका कारण पछिल्लो समय क्यान्सरका बिरामीहरु उपचारमा ढिलो आउन थालेको चिकित्सकहरुले बताएका छन्।
विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले आजभोली क्यान्सरका बिरामीहरु उपचारमा ढिलो आउन थालेको बताए।
उनले कोरोना संक्रमणका नियन्त्रणका लागि भएको लकडाउन र निशेधाज्ञामा मानिसहरु क्यान्सरको पहिचान र उपचारका लागि कम मात्रामा अस्पताल आएको पनि बताए।
डा श्रेष्ठले बिरामीहरु ढिलो आउँदा उनीहरुमा क्यान्सर फैलिएर तेस्रो स्टेजमा समेत पुगिसकेको पनि जानकारी दिए।
‘जब लकडाउन सकियो त्यसपछि क्यान्सरका बिरामीहरु धेरै आउन थाले, बिरामीहरुमा क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेको पनि हामीले पायौं,’ डा श्रेष्ठले भने, ‘उहाँहरुले आफुमा क्यान्सरको लक्षण ५,६ महिनादेखि देखिन थालेको समेत बताउनुभयो, तर किन ढिला आएको भन्दा कोरोना लाग्न भन्ने जवाफ दिनुभयो।’
डा श्रेष्ठले लकडाउन र निषेधाज्ञाका कारण क्यान्सरको उपचारमा रहेका कतिपय बिरामीहरु फलोअपमा नआउँदा उनीहरुमा क्यान्सर फैलिएको तथा जटिलता समेत बढ्न थालेको पाइएको पनि जानकारी दिए।
‘कोरोनाको डरले गर्दा धेरै बिरामीहरु फलोअपमा आउनु नै भएन, त्यस्ता कतिपय बिरामीहरु अहिले रोगले च्यापेर आउन थाल्नुभएको छ,’ उनले भने, ‘ती बिरामीहरुमा पनि रोग बढेको तथा एड्भान्स स्टेजमा पुगेको पाएका छौं।’
उनले कोरोना संक्रमणको डरले क्यान्सर रोग र यसबाट हुने जटिलतालाई वेवास्ता गर्न नहुने पनि बताए।
उनले कोरोना संक्रमणबाट जोगिदै क्यान्सरको उपचारमा आउन बिरामीहरुलाई आग्रह पनि गरे।
डा श्रेष्ठले नेपाल क्यान्सर अस्पतालले कोरोना संक्रमणको त्रासका बीच पनि जनस्वास्थ्यको मापदण्ड अपनाउँदै क्यान्सरका बिरामीको उपचार सेवालाई निरन्तरता दिएको पनि बताए।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरेले कोरोना महामारीको समयमा पनि अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर निरन्तर सेवा दिएको बताए।
उनले कोरोना संक्रमणका कारण लकडाउन र निषेधाज्ञाको समयमा करिव २ महिना अस्पतालमा उपचारका लागि आउने बिरामी कम भएको जानकारी दिए।
‘लकडाउनका कारण २ महिनाजति बिरामीको संख्या पनि कम भएको थियो,’ डा घिमिरेले भने, ‘अहिले हामी फेरी पहिलाकै अवस्थामा फर्किसकेका छौं।’
डा घिमिरेले एकवर्षमा सबैभन्दा धेरै मेडिकल अंकोलोजी तथा किमो थेरापी सेवा लिने बिरामीहरु बढी आएको जानकारी दिए। उनले नेपाल क्यान्सर अस्पतालमा काठमाडौं उपत्यका आसपासका जिल्लाहरुबाट बढी बिरामी आउने गरेको पनि बताए।
उनले क्यान्सरका उपचारका लागि सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरु आउने गरेको पनि बताए।
अस्पतालमा एक वर्षको अवधिमा सबैभन्दा धेरै बिरामी स्तन क्यान्सरको उपचारका लागि आएको डा घिमिरेको भनाइ छ।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका सिइओ डाक्टर बच्चु कैलाश कैनीले नेपाल क्यान्सर अस्पतालले कोरोना
संक्रमणको समयमा पनि बिरामीलाई जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै राम्रो सेवा दिन सफल भएको बताए।
उनले बिरामीलाई राम्रो उपचार सेवा दिन आफुहरु सधै तयार रहेको पनि बताए।
उनले क्यान्सरको सबै किसिमका उपचार नेपालमै सम्भव भएको भन्दै नेपाल क्यान्सर अस्पतालले सबै प्रकारका क्यान्सरका बिरामीहरुलाई गुणस्तरिय स्वास्थ्य उपचार सेवा दिने बताए।