काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९१ हजार १ सय ६६ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा २९ आइसियु र १० भेन्टिलेटरमा, गण्डकीमा ३ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २७ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।