काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गरी आफूले उठाएका तीन बुँदे माग पूरा नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। उनले प्रतिनिधि सभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्न र संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्न माग गरेका छन्।
आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न, चिकित्सा शिक्षालाई गैरनाफामुलक बनाउन, सबै सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरु कार्यान्वयन गर्न डा. केसीले माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं। हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुर गर्ने घोषणा गर्दर्छौं।’
आफूसँग भएका कतिपय सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डा. केसीले आपत्ति जनाएका छन्। मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने भन्ने ऐनका प्रावधानहरु कार्यान्वयन गर्ने सम्बन्धमा कुनै प्रगति नभएको उनले बताएका छन्।