काठमाडौं– धादिङको सिद्धलेक गाउँपालिकाको कोभिड विशेष अस्थायी अस्पतालमा कार्यरत एक चिकित्सकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
धादिङको धुनीबेसी नगरपालिकामा पर्ने खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गाउँपालिकाको अस्थायी कोभिड–१९ विशेष अस्पतालमा कार्यरत धादिङकै नीलकण्ठ नगरपालिका-३ का डा सुरेश अधिकारीको मृत्यु भएको हो। उनको उमेर ३० वर्षको रहेको प्रहरीले जानकारी दिएको छ।
सिद्धलेक गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद सिलवालका अनुसार डा अधिकारी गत मंसिर १५ गतेदेखि ३ महिनाका लागि नियुक्त भएका थिए। डा अधिकारीको करार अवधि आगामी फागुन १५ गतेसम्मका लागि मात्र थियो।
डा अधिकारीसँगै उनका ६० वर्षीय बाबु बलराम अधिकारीको समेत मृत्यु भएको छ। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३-०२-००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको र मोटरसाइकलमा सवार अधिकारी बाबुछोरा घाइते भएका थिए।
उपचारका लागि लाँदै गर्दा उनीहरू दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
सवारी साधनलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ।