काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन्।
स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्ली गएका खनाल अपोलो अस्पतालमा भर्ना भएको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिएका छन्।
आचार्यले खनाल शुक्रबार नै नयाँदिल्ली पुगेको र एपोलो अस्पतालमा भर्ना भएको जानकारी दिँदै ट्विटरमा लेखेका छन्, 'पूर्व प्रधानमंत्री श्री झलनाथ खनाल स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा। उहाँ श्रीमतीसहित दिल्ली आइपुग्नुभएको हो। उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना।'
खनाल शुक्रबार बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत् भारत प्रस्थान गरेका थिए। उपचारको अवस्था हेरेर उनी तीन/चार दिनमा नेपाल फर्कने नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बिहीबार बिहान बताएका थिए। खनाल दिल्ली रहँदा राजनीतिक भेटघाट गर्ने/नगर्ने विषयमा भने रिजालले खुलाएका छैनन्।