काठमाडौं - नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ड इलेक्टमा डा अर्जुन प्रसाद लामिछाने निर्वाचित भएका छन्। संघको माघ ३० देखि फागुन १ गतेसम्म भएको ई भोटिङबाट डा लामिछाने प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएका हुन्।
उनले प्रेसिडेन्ड इलेक्टका प्रत्यासी डा सुदिपमान वैद्यलाई पराजित गरेका छन्। डा लामिछाने प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएसँगै उनी अर्को कार्यकाल स्वतः अध्यक्षमा निर्वाचित भएका छन्। हाल संघको अध्यक्ष डा रविन्द्रलाल प्रधान हुन्। यसअघि संघको डा रोहितकुमार पोख्रेल संघको अध्यक्ष थिए।
संघको वरिष्ठ उपाध्यक्षमा डा बिमलकुमार पाण्डे विजयी भएका छन्। उनले प्रतिद्धन्द्धी डा दीपक कुमार दत्तलाई पराजित गरेका हुन्।
यस्तै, उपाध्यक्षमा डा सरेश उप्रेतीलाई पराजित गर्दै डा अमित जोशी विजयी भएका छन्। महासचिवमा डा विनोद शेरचन विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डा राजराम महर्जनलाई हराएका हुन्।
कोषाध्यक्षमा भने डा गोपेशकुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन्। सहसचिवमा डा विजयन्द्र अधिकारीलाई हराउँदै डा ऋषी विष्ट, सह कोषाध्यक्षमा डा योगेन्द्र अग्रहरीलाई हराउँदै डा निरञ्जनप्रसाद पराजुली निर्वाचित भएका छन्।
यस्तै, डा विवेक वासुकला, डा रामकृष्ण दाहाल र डा शिलु श्रेष्ठ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन्। इ भोटिङमा ४ सय २१ जनाले मतदान गरेका थिए। उक्त कार्य समिति आगामी सन् २०२३ सम्मको लागि हुने निर्वाचन समितिले जनाएको छ।
संघले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग समेत गरेको छ।