खोटाङ- रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना गरिएको छ। छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो।
‘वानहर्ट वल्डवाईड’ नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको बर्थिङ सेन्टर गाउँपालिका प्रमुख लीलानाथ निरौलाले उद्घाटन गरे। वानहर्टको ६२.३ प्रतिशत र गाउँपालिकाको ३७.७ प्रतिशत गरी रु १७ लाखमा चार कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो।
बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, बेटिङमा बस्ने र सभाहलसहितको चार कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
नयाँ भवन, बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिए।
वानहर्टले सुत्केरी गराउन आवश्यक पर्ने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराएको छ।
रासस