काठमाडौं– डाक्टरले लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि नक्कली डाक्टर बनेर सिफारिस गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–८ घर भई काठमाडौं बस्ने ३६ वर्षीय जितेन्द्र पन्थीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार पक्राउ गरेको हो ।
नेपाल मेडिकल काउन्सिलबाट डाक्टर स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ ।
डाक्टर कृष्ण रिजालले स्थायी दर्ता प्रमाणपत्र लागि भरेको भारममा गत असोज ६ गते डाक्टर जितेन्द्र शर्माले दस्तखत गरी सिफारिस गरेका थिए । आफ्नो डाक्टर दर्ता नम्बर २३६४ लेखी जितेन्द्रले कृष्णको सिफारिस गरेका थिए ।
पछि अनुसन्धानको क्रममा डाक्टरको लाइसेन्स नै नभएका जितेन्द्र पन्थीले जितेन्द्र शर्माको नाममा कृष्णको लाइसेन्सका लागि सिफारिस गरेको पाइएको थियो ।
आइतबार पक्राउ गरिएका जितेन्द्रलाई लिखतसम्बन्धी कसुरमा ब्याद थप गरी अनुसन्धान सुरु गरिएको सिआइबीका एसपी गंगा पन्तले बताइन् ।