काठमाडौं - पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका १४ हजार व्यक्तिले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। दोस्रो प्राथमिकतामा परेकाहरुलाई सरकारले आइतबारदेखि खोप लगाउन सुरु गरेको छ।
आइतबार मात्र १४ हजार ५ सय २० जनाले कोभिड खोप लगाएको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खाेप शाखा प्रमुख डा झलक गौतमले बताए। डा गौतमले पहिलो चरणमा ८३ प्रतिशत खोपको कभरेज भएको जानकारी दिए।
कोभिसिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै डा गौतमले निर्धक्कका साथ खोप लगाउन सबैलाई आग्रह गरेका छन्। खोपको प्रभावकारिता र महत्व बारे सबैलाई बुझाउन नसकिएको उनले बताए।
उनले भने, ‘यो कोभिसिल्ड खोप सुरक्षित छ। तर सबैलाई हामीले यो कुरा बुझाउन सकेका छैनौ। यही नै हाम्रो लागि सबैभन्दा ठुलो चुनौती छ।’
कोभिसिल्ड खोपको प्रभावकारिता ७८ प्रतिशत सम्म डा गौतमले जानकारी दिए। खोप लगाएपछि जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न डा गौतमको आग्रह छ।
सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकारहरुलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरेको छ।
पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शव बाहन चालकहरुलाई पनि खोप लगाइएकाे थियाे।
दोस्रो प्राथमिकतामा परेकालाई फागुन ८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।