ललितपुर- ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल सोमबारदेखि १५ वर्षमा प्रवेश गरेको छ। अस्पताल २०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको थियो।
‘अस्पताल सञ्चालनमा ल्याएको हिजो जस्तो लाग्छ, १४ वर्ष बितिसकेछ,’ वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘हामीलाई यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ।’
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सबल र सक्षम रहेको बताइन्।
अस्पतालका सिइओ दिपेन्द्र पोखरेलले बिरामीको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए।
कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर बिरामीको सेवा गरेको थियो।
अल्का अस्पतालले नयाँनयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ।
अस्पतालमा सुविधासम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग तथा यसका सम्पूर्ण परीक्षण अस्पतालमा हुँदै आएको छ।
नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ।
१५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरुझैं रक्तदान कार्यक्रम आयोजना गरेको छ भने असहायहरुलाई खाद्यान्न वितरण गरेको छ।
वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले निःशुल्क बाथरोग सम्बन्धी शिविर पनि आयोजना गरेको छ।