काठमाडौं - नेपाल औषधि व्यवसायी संघले औषधि व्यवसायीहरु कोभिड १९ विरुद्धको खोप लगाउनबाट बञ्चित भएको भन्दै आपत्ति जनाएका छन्।
संघले विज्ञप्ति जारी गरी औषधि व्यवसायीहरुलाई राज्यले प्राथमिकतामा नराख्दा आफुहरु खोपबाट बञ्चित भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यक्ष बिरामीलाई औषधि उपलब्ध गराउन फ्रन्टलाइनमा खटिने औषधि व्यवसायीहरु कोभिड १९ विरुद्धको निशुल्क खोप लगाउनबाट बञ्चित भएका छन्। राज्यले प्राथमिकतामा राखेको छैन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी र सचिव लक्ष्मण अर्याललाई खोप उपलब्ध गराउन ज्ञापनपत्र सहित आग्रह गरेपनि सुनुवाई नभएको संघले जनाएको छ।
‘औषधि पसलका धनी, व्यवसायी तथा कर्मचारीहरुलाई कोभिड १९ संक्रमणको जोखिम उच्च रहेकाले खोप लगाउने कार्यमा व्यवसायीहरुलाई प्राथमिकतामा राखी यथाश्रिघ निशुल्क खोप लगाउने कार्य गरिदिन ज्ञापनपत्र सहित अनुरोध गरेका थियौँ। तर हाम्रो समस्या सुनुवाई भएको छैन।’ विज्ञप्तिमा उल्लेख छ।
कोभिड महामारीमा जोखिम मोलेर काम गरेपनि सरकारले आफुहरुलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुले दुख व्यक्त समेत गरेका छन्। हाल मुलुकभर २१ हजार बढी औषधि व्यवसायीहरु रहेको संघले जनाएको छ।